धनगढी । नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी जारी चौथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा एवीसी स्कुल नेपालगंजलाई १ सय ७ रनले हराउँदै नोवेल चारमा पुगेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नोवेलले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५८ रन बनाएको थियो । उसका लागि किरन ठगुन्नाले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा गणेश विटालुले ३९ रन बनाए । एवीसीका अर्जुन सिंह र टंक खड्काले २/२ विकेट लिए ।
नोवेलले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको एवीसी १६ ओभरमा अलआउट हुँदै मात्र ५१ रन बनाउन सक्यो । उसका लागि वुद्ध अधिकारीले १५ रन र विराट भण्डारीले १० रन बनाए ।
नोवेलका लागि विकास सुनारले ५ विकेट र आदित्य सिंहले २ विकेट लिए ।
यस्तै दोस्रो खेलमा शारदा विद्या निकेतनले लिटिल वुद्ध एकेडेमीलाई ८२ रनले हरायो ।
पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ७२ रन बनाएको थियो । उसका लागि अर्जुन सावदले ४२ रन विरेन्द्र नाथले ४० रन बनाए ।
लिटिल वुद्धका लागि निराजन गौतमले ३ विकेट लिए ।
शारदाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लिटिलले १९ ओभर ४ बलमा अलआउट हुँदै ९० रन बनायो । उसका रमेश भट्टले सर्वाधिक १८ रन बनाए । शारदाका लागि अरुण धामीले ५ विकेट लिए भने विरेन्द्र नाथले ३ विकेट लिए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।