धनगढी । लिटल फ्लावर स्कुल धनगढी जारीमा चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको सेमिफाइनलमा पुगेको छ ।
संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा भक्तपुर निष्ट स्कुललाई २ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम चारमा पुगेको हो ।
भक्तपुर निष्ट स्कुलले दिएको १ सय ४ रनको लक्ष्य लिटल फ्लावरले ८ विकेट क्षतिमा ३ बल बाँकि रहदै पुरा गर्यो । लिटिल फ्लावरका लागि सुवोध ऐरले २८ रन तथा आयुव चन्दले १९ रन बनाए । यस्तै विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए । भक्तपुर निष्टका लागि सोहन यादवले ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भक्तपुर निष्टले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३ रन बनाएको थियो । भक्तपुर निष्ट स्कुलका लागि सोहन यादवले २१ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले १६ रन र सुदीप खड्काले १५ रन बनाए । लिटल फ्लावरका लागि दिपक रोकायाले ४ विकेट लिए । किशोर सिंह र प्रकाश वडुको नाममा समान ३/३ विकेट रह्यो ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा जित हात पार्दै एवीसी स्कुल नेपालगंज क्वाटरफाइनलमा पुगेको छ । एवीसी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ५ रनले हराउँदै अन्तिम आठमा पुगेको हो ।
प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।