काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले टेष्ट राष्ट्र बन्ने लक्ष्य लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) संगको अन्तर्वार्तामा कप्तान पारसले नेपालले टेष्ट राष्ट्र बन्ने लक्ष्य राखेको बताएका हुन् ।
आइसीसीबाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि युरोपमा रहेका कप्तान पारसले आइसीसीसंग उक्त कुरा बताएका हुन् । नेपालले एकदिवसीय क्रिकेटको डेब्यु खेल नेदरल्याण्डसंग एमस्ट्राडममा खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज बुधबार र शुक्रबार हुनेछ ।
एकदिवसीय क्रिकेटको डेब्यु खेलअघि आइसीसीसंग कुरा गर्दै कप्तान पारसले भनेका छन्, 'आठ वर्षअघि हामी डिभिजन ५ खेलिरहेका थियौं । तर, अहिले हामी विश्वको १६ राष्ट्रभित्र रहेका छौं । हामीलाई चार वर्षका लागि एकदिवसीय मान्यता छ । मलाई आशा छ हामी निरन्तर अघि बढ्ने छौं । हामी आफुलाई विकास गर्दै लैजाने छौं किनकि अबको हाम्रो लक्ष्य टेष्ट राष्ट्र बन्ने रहेको छ ।'
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको एकदिवसीय राष्ट्रको मान्यता यहीँ जुलाईबाट लागु भएको थियो । र, कप्तान पारसले नेपालको यो यात्राको लागि निकै मेहेनत गरेको बताए । 'हामीले एकदिवसीय राष्ट्र बन्न कडा मेहेनत गरेका छौं र नेदरल्याण्डसंगको खेल हाम्रो लागि क्षमता देखाउने मौका र अनुभव हुनेछ । आशा छ हामीले राम्रो गर्ने छौं,' कप्तान पारसले भने ।
यस्तै कप्तान पारसले नेपालको लागि एकदिवसीय मान्यता जोगाईरहन चुनौती थपिएको समेत बताए । नेपालको यो यात्रा लामो र रोमान्चक रहेको उल्लेख गर्दै कप्तान पारसले थपे, 'नेदरल्याण्डसंगको पहिलो एकदिवसीय खेल नेपालको लागि नयाँ सुरुवात हो । हामी यो स्थानमा आउन चाहेका थियौं । तर, हामीलाई अगाडी बढ्न अब चुनौती छ ।'
कप्तान पारसले आफुले देशको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्ने सपना कहिल्लै नदेखेको समेत बताए । त्यस्तै कप्तान पारसले बंगलादेशमा भएको सन् २०१४ को टी-ट्वान्टी विश्वकपमा छनोट हुँदाको क्षण खेल जीवनको सबैभन्दा खुसीको क्षण रहेको बताए ।