एजेन्सी । इंग्ल्याण्डले घरेलु टिम न्युजिल्याण्डविरुद्धको चौंथो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।
नापियरमा शुक्रबार भएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई ७६ रनले पराजित गरेको हो ।
जितसँगै इंग्ल्याण्डले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । अब दुई बीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
इंग्ल्याण्डले दिएको २ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६५ रनमा समेटियो ।
न्युजिल्याण्डका लागि कप्तान टिम साउथीले सर्वाधिक ३९ रन जोड्दा कोलिन मुन्रोले ३० रन बनाए । मार्टिन गुप्टिलले २७ रन जोडे ।
न्युजिल्याण्डलाई सस्तैमा समेट्न माट पार्किनसनले ४ विकेट लिए । क्रिस जोर्डनको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ४१ रन बनाएको थियो ।
इंग्ल्याण्डको लागि डेविड मालनले १सय ३ रनको शतकीय इनिङ्स खेले । अविजित रहेका मालनले ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
४८ बलमा शतक पुरा गरेका मालनले टी-ट्वान्टी क्रिकेटमा सबैभन्दा चाँडो शतक बनाउने इन्ग्लिश खेलाडीको कीर्तिमान बनाए ।
यस्तै इयान मोर्गनले ९१ रन बनाए । मालन र मोर्गनले तेस्रो विकेटका लागि १८२ रनको साझेदारी गरे । जुन टी-ट्वान्टीमा इंग्ल्याण्डको लागि सर्वाधिक रनको कीर्तिमानी साझेदारी हो ।
त्यस्तै टम बानटन ३० रनमा आउट भए । न्युजिल्याण्डका मिचेल स्टानरले २ तथा टिम साउथीले १ विकेट लिए ।