काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको दोस्रो इनिङ्समा नेपालले खराब ब्याटिङ गरेको छ ।
टियु क्रिकेट मैदानमा एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै महत्वपूर्ण ७ विकेट गुमाएको छ ।
२८ ओभरको खेल सकिदा नेपालले ७ विकेट गुमाएर ११७ रन जोडेको छ । नेपाललाई जितका लागि २ सय ७६ रनको आवश्यकता रहेको छ ।
दोस्रो इनिङ्समा नेपालका लागि राजु रिजालले सर्वाधिक ३१ रन बनाए । यस्तै आरिफ शेखले १९ रन जोड्दा शरद भेषवाकरले १४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले ६ रन जोड्दा दिपेन्द्र सिंह ऐरी, पवन सर्राफ र विनोद भण्डारी सुन्य रनमा आउट भए ।
सोमपाल कामी १५ तथा करण केसी १७ रन बनाएर क्रिजमा रहेका छन् ।
यसअघि दोस्रो इनिङ्सको पहिलो सेसनमा ३६ ओभरमा ६ विकेट गुमाएर १८१ रन जोडेर एमसीसीले इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९ , टम वेस्ट्लीले ३४ तथा एड योङले ३१ रन बनाए । यस्तै विल रोड्सले ३० रन बनाए ।
नेपालका करण केसीले ३ विकेट लिए । यस्तै सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।
यसअघि एमसीसीले पहिलो इनिङ्समा ३ सय ६४ रन बनाएको थियो । पहिलो इनिङ्समा एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।
नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिए । यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।
नेपालले भने पहिलो इनिङ्समा १५३ रन बनाएको थियो । पहिलो इनिङ्समा नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको थियो ।
खराब ब्याटिङ गरेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे । यस्तै शरद भेषवाकर ४ रनमा आउट भए ।
यस्तै नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । तर, विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए ।
त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए । उनले ४ छक्का र २ चौका प्रहार गरे ।
सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे । ललित सुन्य रनमा आउट भए ।
यस्तै नेपालका आरिफ शेखले १० रन बनाए ।
एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३/३ विकेट लिए ।
नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।