धनगढी । हिमालय ह्वाइट हाउस काठमाडौं र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा चौंथो संस्करणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगमा समूह विजेता बनेका छन् ।
लिग अन्तर्गत बिहिबार एवीसी स्कुल नेपालगंजलाई २० रनले हराएर ह्वाइट हाउस समूह 'डी' को विजेता बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा अलआउट हुँदै १ सय २५ रनको योगफल तयार गरेको थियो । उसका लागि नारायण जोशीले ३८ तथा राम सुरत यादवले २१ रन बनाए । एवीसी स्कुलका लागि तुलाराम थापा र सुनिल चौहानले २/२ विकेट लिए ।
१ सय २६ रनको विजय लक्ष्य पछ्याएको एवीसी स्कुल १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ५ रनमा समेटियो । उसका विराट भण्डारीले ३७ रन र मोहमद ईमरान हस्लाओले २५ रन बनाए । ह्वाइट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समूह सी को विजेता बन्यो ।
पहिले ब्याटिङ गरेको नोवेलले २० ओभरमा ३ विकेट क्षतिमा १ सय ६२ रन बनायो । सो पारीमा किरण ठगुन्नाले ६० रनको अजिवित अर्धशतकीय पारी खेले । यस्तै गणेश विटालुले अजिवित ४६ रन बनाए । शारदाका लागि सोनु अन्सारीले २ विकेट लिए ।
१ सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो । उसका सोनु अन्सारीले २६ रन र लक्ष्मण कठायतले १८ रन बनाए । नोवेलका लागि महेश विष्ट र अनिल थापाले २/२ विकेट लिए ।
प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।