काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीन दिवसीय (फस्ट क्लास) क्रिकेटको पहिलो इनिङ्समा नेपाल अलआउट भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दोस्रो दिनको पहिलो सेसनमा बिहिबार एमसीसीलाई अलआउट गरेर ब्याटिङ थालेको नेपाल ४४ ओभर ४ बलमा १५३ रन जोड्दा अलआउट भएको छ ।
योसँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ । र, नेपाल फलो अनमा समेत परेको छ । तर, एमसीसीले नेपाललाई फलो अन नदिने भएको छ । एमसीसीले केहि बेरमा दोस्रो इनिङ्सको ब्याटिङ थाल्नेछ ।
एमसीसीलाई ३ सय ६४ रनमा अलआउट गरेर ब्याटिङ थालेको नेपालले लन्च ब्रेकसम्म १८ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट हुँदा राजु रिजालले ८ रन जोडे । यस्तै शरद भेषवाकर ४ रनमा आउट भए ।
यस्तै नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । तर, विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए ।
विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए ।
त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाए । सन्दीपले अन्तिम विकेटको लागि ललित नारायण राजवंशीसँग ४२ रनको साझेदारी गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले १०१ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ६४ रन बनायो ।
पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन जोडेको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।
एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए ।
यस्तै सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।
नेपालले करिब १४ वर्षपछि घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलिरहेको हो । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ । यसअघि भएको एकदिवसीयमा नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।