काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा रहेका बेला डिस्को गएर मादक पदार्थ सेवन गरि रातको समयमा हो–हल्ला गर्ने खेलाडीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बसेको एन्फा बैठकले घटनामा संलग्न खेलाडीलाई पहिलो चरणमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । एन्फाका प्रवक्ता किरण राईले पहिलो चरणमा उक्त घटनामा संग्लन खेलाडीलाई ७२ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको खेलपाटीलाई बताए ।
प्रवक्ता राईले खेलाडीलाई स्पष्टीकरण सोधेपछि खेलाडीबाट आउने जवाफका आधारमा कारबाही अघि बढाउने बताए । प्रवक्ता राईले खेलपाटीलाई भने, 'बैठकले सुरुवातमा खेलाडीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । खेलाडीको जवाफ आएपछि अनुसाशन कमिटिले कारबाही अघि बढाउने छ ।'
एसियन गेम्स र साफ फुटबलको तयारीमा रहेका राष्ट्रिय टिमका केही खेलाडी गत शुक्रबार समेत रातको समयमा होस्टेलबाट बाहिर निस्किएर मादक पदार्थ सेवन गरि हो–हल्ला गरेको अवस्थामा भेटिएका थिए । उक्त घटना सार्वजनिक भएसंगै एन्फाले सोमबार बैठक बोलाएको थियो ।
उक्त घटनामा एन्फाले सीसीटीभी फुटेज हेरेर खेलाडीको हुलिया पत्ता लगाएको थियो । जस अनुसार विमल घर्तिमगर, अन्जन विष्ट, विशाल राई, छिरिङ शेर्पा र हेमन्त थापा मगर लगायतका खेलाडी परेका थिए ।