धनगढी । हिमालय ह्वाइट हाउस काठमाडौं, नोवेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढीले चौंथो संकरणको निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग क्रिकेटको क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा बुधबार ह्वाइट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको जित निकाल्दै समूह डी बाट क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
सैनिकले दिएको ७६ रनको लक्ष्य ह्वाइट हाउसले ५ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि दिपक बोहोराले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै सुदीप बस्नेतले अविजित १५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सैनिकले १७ ओभर ५ बलमा अलआउट हुँदै ७५ रन बनाएको थियो । उसका लागि विवेक विष्टले २५ तथा स्वप्निल केसीले १७ रन बनाए ।
हवाइट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए ।
यस्तै बुधबार सत्यवती एकेडेमी लगातार दुई खेलमा हार व्यहोरेपछि समूह सी बाट नोवेल र शारदाले अन्तिम आठको यात्रा तय गरेको हो ।
बुधबार सत्यवती नोवेल एकेडेमीसँग ९१ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको नोवेले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
नोवेलका लागि गणेश विटालुले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै अनिल थापाले २६ रन बनाए । सत्यवतीका लागि निरज भट्टले ३ र योगेश भाटले २ विकेट लिए ।
नोवेलले दिएको १६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ओभर १ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो ।
सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । नोवेलका लागि विकास सुनार र गणेश विटालुले समान ३ विकेट लिए ।