काठमाडौं । नेपालले अहिले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसीले मजबुद प्रदर्शन गरिरहेको छ ।
लन्च ब्रेकसम्म मात्र ८४ रन जोडेको एमसीसीले टि ब्रेकसम्म उच्च योगफलतर्फ अघि बढेको छ । टि ब्रेकसम्म एमसीसीले ६० ओभरमा ४ विकेट गुमाएर २ सय ३३ रन जोडेको छ ।
एमसीसीका विल भान्डेर्सपारले ३७ रन तथा एड योङ १५ रन जोडेर अविजित रहेका छन् ।
एमसीसीका विल रोड्स ७३ रनको अर्धशतकीय इनिङ्स खेलेर आउट भए । यस्तै मिल्स हाम्मोन्डले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा टम वेस्ट्लीले ३९ रन बनाएर आउट भए ।
त्यस्तै बिली गोडलम्यान १० रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी र शरद भेषवाकरले २/२ विकेट लिए ।
आज एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।
नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।