काठमाडौं । नेपालले अहिले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय (फस्ट क्लास) क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसीले मध्यम सुरुवात गरेको छ ।
खेलको लन्च ब्रेकसम्म एमसीसीले २८ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको छ । एमसीसीका विल रोड्स ४४ रनमा अविजित छन् । यस्तै टम वेस्ट्ली २५ रन जोडेर रोड्सलाई साथ दिईरहेका छन् ।
बिली गोडलम्यान १० रनमा आउट भए । उनलाई सोमपाल कामीले आठौं ओभरको पहिलो बलमा क्याच आउट गरेका थिए ।
आज एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् ।
टिममा भएका मध्ये सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेट खेलिसकेका छन् ।
नेपालले करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो ।
फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।