काठमाडौं । इंग्ल्यान्डको लर्डसमा जारी नेपाल र नेदरल्याण्डबीचको टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल रद्द भएको छ । खराब मौषमको कारण त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेल नतिजाबिहिन बनेको हो ।
क्रिकेटको मक्का मानिने लर्डसमा नेपालविरुद्ध नेदरल्याण्डले ब्याटिङ गरिरहदा पटक पटक वर्षा भएपछि खेल रद्द गरिएको हो । दुई पटक वर्षाको कारण रोकिएको खेल पुन तेस्रो पटक रोकिएपछि खेल नतिजाबिहिन बनेको हो । खेल रद्द भएसंगै सिरिजको उपाधि नेपाल र नेदरल्याण्डले संयुक्त पाएको छ ।
बर्षाले खेल रोकिनुअघि नेदरल्याण्डले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । नेदरल्याण्डका माइकल रिप्पोन ३८ तथा स्कट एडवार्ड ३४ रन बनाएर खेलिरहेका थिए ।
त्यसअघि उसका वेस्ले बारेसी ४४ र रायन टेन डेसचाटे ३७ रन बनाएर पेभेलियन फर्किएका थिए । बलिङमा नेपालको लागी सोमपाल कामी, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) को आमन्त्रणमा नेपाल नेदरल्याण्ड सम्मलित त्रिकोणात्मक सिरिजको लागि इंग्ल्यान्ड गएको थियो । तर, अचानक मौषम खराब हुँदा सिरिज नै प्रभावित भएको छ ।
यसअघि वर्षाकै कारण एमसीसी र नेदरल्याण्ड तथा एमसीसी र नेपालबीचको खेल समत प्रभावित भएको थियो । वर्षाको कारण ६ ओभरमा झारिएको अघिल्लो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो । यस्तै नेदरल्याण्डले पनि एमसीसीलाई १० रनले हराएको थियो ।
नेपाल र नेदरल्याण्डबीचको यो खेललाई भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो । र, नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेलिरहेको थियो । तर, खेल नतिजा बिहिन सकिएको छ ।
नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
यस्तै नेपालको यो दोस्रो लर्डस भ्रमण रहेको थियो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।
अब नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।