काठमाडौं । मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने भएको छ । एमसीसीले आइतबार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली क्रिकेट विकासमा सहयोग गर्ने घोषणा गरेको हो ।
एमसीसीले नेपाली क्रिकेटको दिगो विकास र त्यसलाई सार्थक बनाउने उदेश्यसहित सहयोग गर्ने घोषणा गरेको हो । पहिलो कदमस्वरूप एमसीसीले नेपालमा लिगेसी टुरको योजना बनाएको छ । जसअन्तर्गत एमसीसी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाल भ्रमण गर्ने छन् । लिगेसी टुरको मिति भने एमसीसीले तोकेको छैन । यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो ।
नेपालले हालै अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको र नेपालमा क्रिकेट क्रेज वृद्धि भईरहेको कारण नेपाललाई छनोट गरिएको एमसीसीले जनाएको छ । यस्तै एमसीसीले नेपाली लिगेसी टुरको घोषणा गर्दै क्रिकेट विकासको लागि एमसीसी फाउन्डेसनबाट फन्ट समेत जुटाउने बताएको छ । उक्त फन्डमा संकलन भएको रकम एमसीसीले क्रिकेटको विकासमा खर्च गर्नेछ ।
नेपालबाट लिगेसी टुरको थालनी गर्नेबारे एमसीसीका सहायक सचिव जोन स्टीभनसनले भनेका छन्, 'एमसीसीको लिगेसी टुर नेपालबाट सुरु हुने घोषणा गर्दा मलाई खुसी लागेको छ । नेपाली टिम आज एमसीसीमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ । यो वृद्धि भईरहेको नेपाली क्रिकेटको विकासको लागि राम्रो समय हो ।'
यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले एमसीसीको यो घोषणाले नेपाली क्रिकेटको स्थायी विकासमा सहयोग पुग्ने बताए । नेपालमा क्रिकेट क्रेज बढीरहेको उल्लेख गर्दै कप्तान पारसले भनेका छन्, 'म निकै खुसी छु । एमसीसीले लिगेसी टुर नेपालबाट गर्दैछ । मलाई आशा छ कि यसले हाम्रो राष्ट्रको क्रिकेट बिकासमा स्थायीत्व दिनेछ ।'
एमसीसीको एस्तो लिगेसी टुर निकै प्रभावकारी रहदै आएको छ । एमसीसीले रुवान्डा, अफगानिस्तान र श्रीलंकामा लिगेसी टुर गर्दै क्रिकेट विकासमा सहयोग गरिसकेको छ ।