काठमाण्डौं । केसिटिसीको ए टिम र ओएसिस टिम काजेश्वरी मनोहरा यू – १६ सान टी–२० कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा सान निलोलाई १९ रनले हराउदै केसिटिसी समूह क को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । यो समूहबाट एन्जल्स क्रिकेट एकेडेमीले पनि अन्तिम आठमा स्थान पक्का गरेको छ ।
केसिटिसीले दिएको ८४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सान निलो १३ ओभर ४ बलमा मात्र ६४ रन जोड्दा अलआउट भयो । सानका एकनाथ नेपालले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । केसिटिसीका कैशल सुवेदीले ४ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केसिटिसीको लागि संजय श्रेष्ठको ३३, कौशल सुवेदीले १५ तथा सचिन श्रेष्ठले ११ रन जोडे । सान निलोका एकनाथ नेपालले ३ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा ओएसिसले बालुवाटार क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । ओएसिसको जितमा सुदीप बस्नेतले ४१ रन जोडे ।