एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ईन्डियन प्रिमियर लिग क्रिकेटको नियममा ठुलो परिवर्तन गर्ने योजना बनाएको छ ।
बीसीसीआईले आईपीएलको आगामी संस्करणमा पावर प्लेयरको नियम ल्याउने योजना बनाएको हो ।
नयाँ नियम अनुसार टिमले खेलको दौरान विकेट गुमाएपछि वा ओभर सकिने बित्तिकै खेलाडीलाई परिवर्तन गर्न सक्नेछ ।
बीसीसीआईका एक वरिष्ठ अधिकारीका अनुसार नयाँ नियममा सहमती बनेको छ । तर यसलाई मंगलबार मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा बस्ने आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा वृहत रुपमा छलफल गरिनेछ ।
वरिष्ठ अधिकारीले भनेका छन्, 'हामी यस्तो अवस्थाको बिचार गरिरहेका छौ । जहाँ टिमले अन्तिम ११ को स्थानमा १५ खेलाडी छनोट गर्नेछन् । र एक खेलाडीलाई खेलको दौरान कुनैपनि समय विकेट झर्ने बित्तिकै वा ओभर सकिने बित्तिकै परिवर्तन गर्न सकिनेछ । हामी यसलाई आईपीएलमा ल्याउने सोचिरहेका छौ ।'
आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा यस नियमसंगै सन् २०१९ को आईपीएलको समिक्षा समेत हुनेछ ।
साथै आगामी सिजन आईपीएललाई थप लोकप्रिय बनाउने बिषयमा समेत छलफल हुनेछ ।