काठमाडौं । नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) टिम नेपाल भ्रमणमा रहेका छन् ।
नेपाल भ्रमणका दौरान एमसीसीले आइतबार नेपालको उमेर समूहको यू-१९ टिमसँग खेलेको थियो । यस्तै एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्यो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गर्यो । तर, नेपाली टोलि मैदान उत्रदा राष्ट्रिय टिम बाहिरका दुई खेलाडी मैदानमा देखिए ।
नेपालले एमसीसीसँगको खेलका लागि तीन फर्म्याटका लागि छुट्टाछुट्टै राष्ट्रिय टिमको घोषणा गरेको थियो । जस अन्तर्गत एकदिवसीय खेलका लागि पवन सर्राफ र अभिनास बोहरा टिममा थिएनन् ।
तर, सोमबार एमसीसीविरुद्ध टिममै नभएका पवन र अभिनास मैदानमा उत्रिए । किन अन्तिम समयमा टिम बाहिरका खेलाडीलाई मैदान उतारियो ?
खेलपछि कप्तान ज्ञानेन्द्र मल्लले अन्य खेलाडी अस्वस्थ्य भएको र नयाँ खेलाडीलाई मौका दिने कुरा भएको कारण यस्तो भएको बताए ।
'सुरुमा त त्यही स्क्वाडमा रहेको खेलाडी खेल्ने कुरा थियो तर पारस (खड्का) स्वस्थ नभएको कारण उसले खेलेन ।' ज्ञानेन्द्रले खेल पछि पत्रकारहरुसंग भने, 'यो खेललाई मात्र नभएर आउने अन्तराष्ट्रिय खेललाई मध्यनजर गर्दै युवा खेलाडीलाई प्रथामिकता दिएका हौँ ।'
यस्तै ज्ञानेन्द्रले एक्सपोजर चाहिएको खेलाडीलाई मौका दिएको समेत बताए ।
एकदिवसीय टिममा रहेपनि पूर्व कप्तान पारससहित सन्दीप लामिछाने, सोमपाल कामी र रोहित पौडेल मैदान उत्रेनन् ।
एमसीसीविरुद्ध दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन समेत गरे । पवनले ४ विकेट तथा अविनासले १ विकेट हात पारे । पवनले ब्याटिङ्मा समेत उत्कृष्ट प्रदर्शन गरे । उनले नेपालको जितमा अविजित ३८ रनको योगदान दिए ।