काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्व क्रिकेटको सबैभन्दा पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले जित निकालेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो ।
एमसीसीले दिएको २ सय २ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा विनोद भण्डारीले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पवन सर्राफ ३८ रनमा अविजित रहे ।
खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, तेस्रो विकेटका लागि शरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीले ६७ रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।
शरद २४ रनमा आउट हुँदा दिपेन्द्रले २३ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा आरिफ शेखले २३ तथा इशान पाण्डेले ४ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९ ओभर २ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।
एमसीसीका विल रोड्स र विलि गोडलम्यानले अर्धशतकीय इनिङ्स खेले । रोड्सले ५४ रन जोड्दा गोडलम्यानले ५२ रन बनाए ।
यस्तै विल भेन्डेस्पर ३६ तथा क्यालम ज्याक्सन र एलेक्स थोमसनले समान ११ रन बनाए ।
नेपालका पवन सर्राफ र ललित नारायण राजवंशीले समान ४/४ विकेट लिए । करण केसी र अविनास बोहराको नाममा १/१ विकेट रह्यो ।
यो जितसँगै स्थायी कप्तानको डेब्यु खेलमा मल्लले नेपाललाई जित दिलाएका छन् । नियमित कप्तान पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ क्यानले गत साता उनलाई कप्तान चयन गरेको थियो ।
अब नेपालले एमसीसीसँग तीन दिवसीय खेल खेल्नेछ । तीन दिवसीय बुधबार सुरु हुनेछ । त्यसपछि नेपाल र एमसीसीबीच टी-ट्वान्टी खेल हुनेछ ।
यसअघि आइतबार एमसीसीले नेपाली यू-१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।