एजेन्सी । घरेलु टोली भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले रोमान्चक जित निकालेको छ ।
दिल्लीमा आइतबार राति भएको खेलमा बंगलादेशले भारतलाई ७ विकेटले पराजित गरेको छ ।
भारतले दिएको १४९ रनको लक्ष्य बंगलादेशले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा मुस्फिकर रहिमले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सौम्य सरकारले ३९ तथा मोहमद नाइमले २६ रन जोडे ।
कप्तान महमदउल्लाह १५ रनमा अविजित रहे । भारतका दिपक चाहर, खलिल अहमेद र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनाएको थियो ।
भारतका लागि शिखर धवनले ४१ तथा ऋषप पन्तले २७ रन बनाए । श्रेयर एयरले २२ रन बनाउँदा लोकेश राहुलले १५ रन बनाए ।
यस्तै कप्तान रोहित शर्मा ९ रनमा आउट हुँदा कुर्नाल पाण्डयले अविजित १५ रन जोडे ।
बंगलादेशका एमिन्युल इस्लाम र सैफुल इस्लामले २/२ विकेट लिए ।
योसँगै बंगलादेशले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई पहिलो पटक पराजित गर्दै ऐतिहासिक जित निकालेको छ ।
बंगलादेशविरुद्ध टी-ट्वान्टीको पछिल्लो आठ भेटमा सधै भारत हावी हुँदै आएको थियो । तर, दिल्लीमा बंगलादेशले आठ खेलपछि भारतलाई हराउन सफल भएको छ ।
जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १-० को अग्रता बनाएको छ । अब दुई टोलीबीचको दोस्रो खेल बिहिबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि भारत र बंगलादेशबीच दुई खेलको टेष्ट सिरिज हुनेछ ।