काठमाडौं । इंग्ल्यान्डको लर्डसमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले अहिले नेदरल्याण्डसंग खेलिरहेको छ ।
लर्डसमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । अहिले नेदरल्याण्ड ब्याटिङ गरिरहेको छ ।
यसअघि नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको थियो । यस्तै नेदरल्याण्डले पनि एमसीसीलाई १० रनले हराएको थियो ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले लर्डसमा दोस्रो पटक खेल्न लागेको हो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।