काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको एकदिवसीय खेलमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिम पराजित भएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा एमसीसीसँग नेपाली यूवा टिम ३८ रनले पराजित भएको छ ।
एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रन मात्र बनाउन सक्यो ।
नेपालका हरि बहादुर चौहानले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रित गौतमले ४५ रन जोड्दा अरुण ऐरीले ३० रन बनाए ।
त्यस्तै शेर मल्ल २८ रनमा अविजित रहदा खडक बहादुर बोहराले २६, लोकेश बमले १८ र विशाल विक्रम केसीले १३ रन बनाए ।
एमसीसीका क्रिस राइटले ३ विकेट लिए । यस्तै बिली गोड्लीम्यान र टम वेट्सलीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो ।
एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स मिल्स हम्मोन्ड र टम वेट्सलीले समान ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
एड योङ ४५ रनमा अविजित रहदा विल भेन्देरस्पेरले २४ तथा बिली गोड्लीम्यानले २२ रन बनाए ।
नेपालका सागर ढकाल र शेर मल्लले समान २/२ विकेट लिए । यस्तै कुशल मल्ल र आकाश चन्दले १/१ विकेट लिए ।
अब एमसीसीले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीयपछि एमसीसीले नेपालसँग टी-ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।