काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले अहिले विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा एमसीसीले नेपाली युवा टिमलाई जितका लागि ३ सय ३५ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनायो ।
एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यू-१९ टिमपछि एमसीसीले टिमले सोमबार नेपाली राष्ट्रिय टिमसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय पछि एमसीसीले नेपालसँग टी-ट्वान्टी र फस्ट क्लास क्रिकेट खेल्ने छन् ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी टिम नेपाल आएका हुन् । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।