काठमाडौं । इंग्ल्यान्डको लर्डसमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको छ ।
श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेको कप्तानीमा रहेको एमसीसीले दिएको ४१ रनको लक्ष्य नेपालले ५ ओभरमा मात्र एक विके गुमाएर पुरा गर्यो । नेपालका लागि सुवास खकुरेलले अविजित १६ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित १२ रन जोडे । यस्तै अनिल साहले ९ रन बनाए । एमसीसीका ड्यानियलले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाएको थियो । उसका लागि कप्तान जयबर्धनेले अविजित २४ रन जोडे । त्यस्तै पिटर मुरले ६, माट कोलेसले ५ र जोनाथन ट्रोटले ४ रन जोडे । जेम्स फोस्टर सुन्य रनमा पेभेलियन फर्किए ।
नेपालका लागि सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए ।
अब नेपालले नेदरल्याण्डसंग २० ओभरको खेल खेल्नेछ । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९ बजे सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले लर्डसमा दोस्रो पटक खेल्न लागेको हो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।