काठमाडौं । इंग्ल्यान्डको लर्डसमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत अहिले नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल खेलिरहेको छ । र, श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेको कप्तानीमा रहेको एमसीसीले नेपाललाई ६ ओभरमा जितका लागि ४१ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ६ ओभरमा ४ विकेट गुमाएर ४० रन बनाउन सक्यो । उसका लागि कप्तान जयबर्धनेले अविजित २४ रन जोडे । त्यस्तै पिटर मुरले ६, माट कोलेसले ५ र जोनाथन ट्रोटले ४ रन जोडे । जेम्स फोस्टर सुन्य रनमा पेभेलियन फर्किए ।
नेपालका लागि सोमपाल कामीले २ तथा शक्ति गौचनले एक विकेट लिए ।
एमसीसीसंगको खेलपछि नेपाल र नेदरल्याण्डबीचको २० ओभरको खेल हुनेछ । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९:१५ मा सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले लर्डसमा दोस्रो पटक खेल्न लागेको हो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।
त्रिकोणात्मक सिरिजअघि नेपालले चार अभ्यास खेल खेलेको थियो । स्थानीय क्लबविरुद्धको चार खेलमा नेपालले तीन जित निकालेको थियो ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।