काठमाडौं । इंग्ल्यान्डको लर्डसमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत अहिले नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेल खेलिरहेको छ ।
बर्षाको कारण ६ ओभरमा झारिएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले निकै राम्रो बलिङ गरिरहेको छ । ४ ओभरको खेल जारी रहदा एमसीसीले ३ विकेट गुमाइसकेको छ । र, ३७ रन जोडेको छ । नेपालका शक्ति गौचन र सोमपाल कामीले एक एक विकेट लिएका छन् ।
एमसीसीसंगको खेलपछि नेपाल र नेदरल्याण्डबीचको २० ओभरको खेल हुनेछ । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९:१५ मा सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले लर्डसमा दोस्रो पटक खेल्न लागेको हो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।