धनगढी । लिटल फ्लावर स्कुलले चौंथो संस्करणको निष्ट लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा लिटल फ्लावरले त्रिनगर माविलाई ९ विकेटले पराजित गरेको छ ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा त्रिनगरले दिएको १०० रनको लक्ष्य लिटल फ्लावरले ६ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर पुरा गर्यो ।
लिटल फ्लावरको जितमा कप्तान विपिन रावलले २४ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ओपनर सुवोध ऐरले १० रन बनाउँदा नरेन भट्टले ११ रन बनाए । त्रिनगरका सन्दीप विष्टले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको त्रिनगरले १८ ओभर ३ बलमा अलआउट हुँदै ९९ रन बनाउन सक्यो । त्रिनगरका लागि सन्दीप विष्टले ३२, दिपक जोशीले १८ तथा जनक पाण्डेयले १६ रन बनाएका थिए ।
लिटल फ्लवारका दिपक रोकायाले ४ विकेट लिएका थिए । महेश अधिकारी र अनिल थापाले २/२ विकेट लिएका थिए ।
लिटल फ्लावरका दिपक रोकाया प्लेयर अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय पाए ।
प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरे ।
यस्तै कार्यक्रममा क्रिकेटमा योगदान पुराएको भन्दै पुराना क्रिकेट खेलाडी ठक्कर बम र व्यवसायिक क्रिकेटको सुरुवातकर्ता सुवाश शाहीलाई सम्मान गरिएको थियो ।