काठमाडौं । इंग्ल्यान्डको लर्डसमा नेपाललेखेल्ने त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको खेल समय परिवर्तन भएको छ । वर्षाको कारण अपरान्हबाट तय भएको त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन भएको हो ।
क्रिकेटको मक्का मानिने लर्डसमा नेपालले मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड सम्मलित तीन राष्ट्रसंग त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।
यस्तै खेलको ओभर पनि घटाइएको छ । एमसीसीका अनुसार अघिल्ला दुई खेल खेल ६ ओभरको हुनेछ । नेपाल र नेदरल्याण्डबीचको खेल भने २० ओभरकै हुनेछ ।
लर्डसले निकालेको नयाँ खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा एमसीसी र नेदरल्याण्डबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार बेलुका ६:४५ मा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले एमसीसीसंग खेल्ने छ । नेपाल र एमसीसीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ । सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र नेदरल्याण्डले खेल्ने छन् । नेपाल र नेदरल्याण्डबीचको खेल राति ९:१५ मा सुरु हुनेछ ।
नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ । नेपालले सन् २०१५ पछि पहिलोपटक टी-ट्वान्टी खेल खेल्न लागेको हो । नेपालले सन् २०१५ को जुलाईमा टी-ट्वान्टी विश्वकप छनोटमा पपुवा न्युगिनीसँग खेलेपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको छैन । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले टी-ट्वान्टी खेल्ने मौका पाएको हो ।
नेपालले लर्डसमा दोस्रो पटक खेल्न लागेको हो । नेपालले दुई बर्षअघि पहिलोपटक लर्डसमा खेलेको थियो । नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध २ सय बर्ष पुगेको अवसरमा भएको एकदिवसीय खेलमा नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।
त्रिकोणात्मक सिरिजअघि नेपालले चार अभ्यास खेल खेलेको थियो । स्थानीय क्लबविरुद्धको चार खेलमा नेपालले तीन जित निकालेको थियो ।
त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट १ र ३ मा ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो खेलपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिनेछन् ।