एजेन्सी । नेदरल्याण्ड युएईमा जारी आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको सेमिफाइनलमा आयरल्याण्डलाई २१ रनले पराजित गर्दै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो ।
दुबईमा नेदरल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
आयरल्याण्डको लागि पाउल स्ट्रर्लिङले सर्वाधिक २९ रन जोडे । यस्तै जर्ज डकरेलले अविजित २५ तथा केभिन ओ'ब्रायनले २२ रन जोडे ।
नेदरल्याण्डका पिटर सेलरले ३ विकेट लिए । यस्तै फ्रेड क्लासेन र भान डेर मेर्वीले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।
नेदरल्याण्डका लागि रायन टेन डोस्काटेले अविजित ४३ रन बनाए । यस्तै बेन कोपरले ३७ तथा भान डेर मेर्वीले अविजित २५ रन बनाए । आयरल्याण्डका क्रेग योङले २ विकेट लिए ।
अब नेदरल्याण्डले उपाधिका लागि नामिबिया र पपुवा न्यु गिनीबीचको विजेतासँग खेल्नेछ ।
अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको छनोट अन्तर्गत रहेको ग्लोबल छनोटबाट नेदरल्याण्ड र आयरल्याण्डले विश्वकपमा स्थान बनाइसकेका छन् ।