धनगढी । चौंथो संस्करणको निष्ट लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटको ट्रफी सार्वजनिक भएको छ ।
धनगढीमा शनिबारबाट सुरु हुने प्रतियोगिताको ट्रफी शुक्रबार सार्वजनिक गरिएको हो । ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी टिमका कप्तानहरुको उपस्थिति रहेको थियो ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य विक्रम विष्ट र क्रिकेट संघकै सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरि रेग्मीले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता कात्तिक २६ गतेसम्म चल्नेछ । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १२ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाईएको छ ।
लिग कम नकआउटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक एकेडेमीले जनाएको छ ।
आयोजक एकेडेमीले प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको समेत जनाएको छ ।