एजेन्सी । घरेलु टोलि अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
मेलबर्नमा शुक्रबार भएको तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा ७ विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।
श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित रहदै ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यसअघि उनले पहिलो खेलमा शतक र दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए ।
यस्तै अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३७ तथा एस्टन टर्नरले अविजित २२ रन जोडे । श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेराले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा अभिस्का फर्नान्डोले २० रन जोडे । भानुका राजपाक्ष १७ रनमा अविजित रहे ।
अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले २/२ विकेट लिए ।
श्रीलंकाविरुद्ध अष्ट्रेलियाले पहिलो खेल १ सय ३४ रनले जित निकालेको थियो । यस्तै दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो ।