काठमाडौं । नेपालले यसै साता इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग फस्ट क्लास क्रिकेट खेल्दैछ ।
नेपालसँग टी-ट्वान्टी, एकदिवसीय र फस्ट क्लास क्रिकेट सिरिजका लागि एमसीसीको टिम शनिबार नेपाल आईपुग्ने छन् ।
एक साता नेपालमा रहने एमसीसीको टिमले कात्तिक २० देखि २२ सम्म टियु क्रिकेट मैदानमा तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्नेछ ।
नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा तीनै फर्म्याटको लागि राष्ट्रिय टिमको घोषणा गरिसकेको छ । नियमित कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएसंगै नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको हो ।
एमसीसीविरुद्धको खेलसँगै कप्तान ज्ञानेन्द्रले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्ने भएका छन् । १३ वर्षे क्रिकेट करियरमा ज्ञानेन्द्रले पहिलो पटक फस्ट क्लास क्रिकेट खेल्न लागेका हुन् ।
एमसीसीविरुद्ध ज्ञानेन्द्रसँगै कम्तिमा नेपालका ९ खेलाडीले पनि फस्ट क्लास क्रिकेटमा डेब्यु गर्ने छन् । नेपालले घोषणा गरेको टिममा सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेटको अनुभव बटुलेका छन् । अन्य खेलाडीले भने फस्ट क्लास क्रिकेट खेलेका छैनन् ।
शरदले सन् २००४ को अन्तरमहादेशीय कपमा युएईविरुद्ध फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै सोमपालले श्रीलंकाको घरेलु क्रिकेटमा फस्ट क्लास क्रिकेट खेलेका थिए ।
नेपालले सन् २००४ को पहिलो र २००५ को दोस्रो संस्करणको अन्तर महादेशीय कप खेलपछि कुनै पनि फस्ट क्लास क्रिकेट खेलेको छैन । त्यसपछि नेपालले एसीसीको तीन दिने प्रतियोगिता र श्रीलंका भ्रमणको क्रममा नेपालले दुई तीन दिने खेल खेलेपनि त्यसलाई आईसीसीले मान्यता दिएको थिएन् ।
कप्तान ज्ञानेन्द्रसँगै सन्दीप लामिछाने, आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, राजु रिजाल, बसन्त रेग्मी, पवन सर्राफ, रोहित पौडेल र जितेन्द्र मुखियाले डेब्यु गर्ने छन् ।
यता एमसीसीको टिममा भने पाकिस्तानबाट टेष्ट खेलिसकेका यासिर अराफात र इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका विल रोड्स जस्ता खेलाडी रहेका छन् ।
फस्ट क्लास नेपाली टिम :
ज्ञानेन्द्र मल्ल (कप्तान)
सोमपाल कामी
शरद भेषवाकर
सन्दीप लामिछाने
आरिफ शेख
विनोद भण्डारी
दीपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
बसन्त रेग्मी
राजु रिजाल
रोहित पौडेल
पवन सर्राफ
जितेन्द्र मुखिया
नेपाल र एमसीसीबीचको खेल तालिका :
३ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बर : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
पोखरामा हुने खेल -
११ नोभेम्बर : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)