काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम भोलि (शनिबार) नेपाल आईपुग्ने भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका टिम म्यानेजर सुमन राज कार्कीले एमसीसीको टिम शनिबार बिहान १०:३० बजे नेपाल आईपुग्ने जानकारी गराए ।
एक साता नेपालमा रहने एमसीसीको टिमले राष्ट्रिय टिमसँग टी-ट्वान्टी, एक दिवसीय र फस्ट क्लास क्रिकेट खेल्नेछ । एमसीसीसँगको खेलका लागि नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा टिम घोषणा गरिसकेको छ ।
यस्तै एमसीसी र नेपालको राष्ट्रिय टिम मिश्रित टिमले एक टी–ट्वान्टी खेल खेल्नेछ । त्यस्तै एमसीसीको टिमले यू–१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।
एमसीसीसँगको खेल तालिका -
३ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
४ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
६ देखि ८ नोभेम्बर : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
९ नोभेम्बर : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)
पोखरामा हुने खेल -
११ नोभेम्बर : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
१२ नोभेम्बर : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)