एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ५ विकेटले हराएको हो ।
दाम्बुलामा घरेलु टोली श्रीलंकाले दिएको १९४ रनको लक्ष्य दक्षिण अफ्रीकाले ३१ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा जेपी डुमिनीले अर्धशतकीय पारी खेले । डुमिनी ५३ रनमा अविजित रहे । यस्तै फाप डु प्लेसिस र क्विनटन डी ककले समान ४७/४७ रन जोडे । श्रीलंकाका अकिला दनान्जयले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ३४ ओभर ३ बलमा अलआउट हुँदै १९३ रनमा समेटिएको थियो । श्रीलंकाका कुसल परेराले ८१ तथा थिसारा परेराले ४९ रन जोडेपनि अन्य ब्याट्सम्यान चल्न नसक्दा उच्च योगफल तयार पार्नबाट चुकेको थियो । श्रीलंकाको पारी ध्वस्त बनाउन दक्षिण अफ्रिकाका ताब्रेइज शाम्सी र कागीसो राबाडाले समान ४/४ विकेट लिए ।
यो जितसंगै दक्षिण अफ्रीकाले घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा १ – ० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो खेल बुधबार हुनेछ । यसअघि दक्षिण अफ्रीकाले श्रीलंकाविरुद्धको टेष्ट सिरिज गुमाएको थियो ।