काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने सर्वाधिक धेरै राष्ट्रमा क्रिकेट खेलाडी बनेका छन् ।
एक सर्वेक्षण अनुसार नेपाली युवा लेग स्पिनर सन्दीप टी-ट्वान्टी क्रिकेटका लागि धेरै राष्ट्रको भ्रमण गर्ने खेलाडी बनेका हुन् ।
क्रिकेटको चर्चित म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ ले निकालेको सर्वेक्षण अनुसार सन्दीपले आठ राष्ट्रमा क्रिकेट खेलेका छन् । अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिका सन्दीपले आठ राष्ट्रको भ्रमण गरेको सर्वेक्षणले देखाएको छ ।
सन्दीपसँगै अफगानिस्तानका नाजिबुल्लाह जाड्रनले पनि आठ राष्ट्रको भ्रमण गरेका छन् । सर्वेक्षणमा सन्दीप र जाड्रन संयुक्त शीर्ष स्थानमा रहेका छन् ।
सन्दीपले भारतको आईपीएल, बंगलादेशको बिपीएल, अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, पाकिस्तानको पीएसएल, अफगानिस्तानको एपीएल, क्यानाडाको ग्लोबल टी-ट्वान्टी र युएईको टी-१० लिग खेल्ने क्रममा उक्त राष्ट्रको भ्रमण गरेका हुन् ।
अफगानिस्तानका राशिद खान, रहमत शाह, श्रीलंकाका थिसरा परेरा, इशुरु उडाना र न्युजिल्याण्डका कोलिन मुन्रोले ७ राष्ट्र भ्रमण गरेर दोस्रो स्थानमा रहेका छन् ।
यस्तै सन्दीप सर्वाधिक धेरै टिमबाट खेल्ने क्रिकेटरको दोस्रो स्थानमा छन् । सन्दीपले ७ टिमबाट खेलेका छन् ।
सर्वेक्षण अनुसार सन्दीपले नेपालसहित दिल्ली क्यापिटल्स, मेलबर्न स्टार्स, लाहोर क्वालान्डर्स, बर्वाडोस ट्रीडेन्टस, सिलेड सिक्सर्स र नागाहर लियोपार्टसबाट खेलेका छन् ।
सर्वाधिक धेरै टिमबाट खेल्ने क्रिकेटरको शीर्ष स्थानमा अफगानिस्तानका क्वाइस अहमद रहेका छन् । उनले आठ टिमबाट खेलेका छन् ।
त्यस्तै सन्दीप टी-ट्वान्टीमा सर्वाधिक धेरै बल बलिङ गर्ने खेलाडीको दोस्रो स्थानमा रहेका छन् । सन्दीपले ९ सय ८५ बल बलिङ छन् । १३ सय ५५ बल बलिङ गरेका अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा छन् ।