काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नव नियुक्त कप्तान ज्ञानेन्द्र मल्लले कप्तानीको जिम्मेवारी पाउनु सम्मानको कुरा रहेको बताएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले कप्तान नियुक्त गरेपछि ज्ञानेन्द्रले बिहिबार सामाजिक संजालबाट कप्तानी पाउनु सम्मानको कुरा भएको बताएका हुन् ।
'राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी पाउनु सम्मानको कुरा हो,' ज्ञानेन्द्रले फेसबुकमा लेखेका छन्, 'पारसको उत्कृष्ट नेतृत्वमा राष्ट्रिय टिमले शानदार उडान गरेको थियो र लक्ष्य प्राप्तिको लागि टिमले बाटो पाएको थियो ।'
कप्तान ज्ञानेन्द्रले नेपालले हासिल गर्दै आएको सफलतामा थप उचाई दिन सक्दो कोशिस गर्ने समेत बताए ।
'मेरो लागि ठूलो जिम्मेवारी आउँदा म नेपालले हात पार्दै आएको सफलतालाई कायम राखी आउने दिनमा टिमको उचाई थप माथि पुर्याउन चाहान्छु । सहयोग गर्नु हुने सबैमा धन्यवाद र हजुरहरुको आशालाई पुरा गर्न म सधैँ प्रेरित हुनेछु,' ज्ञानेन्द्रले भनेका छन् ।
नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले ज्ञानेन्द्रलाई बुधबार कप्तानीको जिम्मेवारी दिएको थियो ।
पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए ।
अब नेपालले लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसीसी टिमसँगको सिरिज ज्ञानेन्द्रको कप्तानीमा खेल्नेछ ।