एजेन्सी । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट खेल्ने १६ टिमको टुंगो लागेको छ ।
युएईमा सम्पन्न ग्लोबल छनोटबाट ६ टिमले अष्ट्रेलियाको टिकट काटेसँगै विश्वकपमा सहभागी १६ टिमको तय भएको हो ।
ग्लोबल छनोटमा सहभागी १४ टिमबाट ६ टिमले विश्वकपको टिकट काटेको हो । बुधबार राति इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै ओमान विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बनेको थियो ।
यस पटक ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाए । जसमा नामिबिया र पीएनजीले भने पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् ।
आईसीसीको टी-ट्वान्टी वरियताका शीर्ष १० टिम भने छनोट नखेली विश्वकपमा छनोट भईसकेका छन् ।
अब विश्वकपमा ग्लोबल छनोटबाट आएका ६ टिम र बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर-१२ मा स्थान बनाउने छन् ।
सुपर-१२ मा आईसीसी वरियताका शीर्ष आठ टिम पाकिस्तान, भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानसँग खेल्ने छन् ।
दुई समूहमा विभाजन गरेर खेलाईने सुपर -१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
विश्वकपमा छनोट भएको टिम :
पाकिस्तान
भारत
इंग्ल्याण्ड
अष्ट्रेलिया
दक्षिण अफ्रीका
न्युजिल्याण्ड
वेष्ट इण्डिज
अफगानिस्तान
बंगलादेश
श्रीलंका
ओमान
स्कटल्याण्ड
नामिबिया
नेदरल्याण्ड
आयरल्याण्ड
पपुवा न्यु गिनी