एजेन्सी । ओमान अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
युएईमा जारी ग्लोबल छनोटको इलिमिनेटरमा हङकङलाई १२ रनले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
दुबईमा ओमानले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरम ९ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि स्कटले सर्वाधिक ४४ रन जोडेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै हारोण अर्सादले २० तथा केली क्रिस्टीले ११ रन बनाए ।
हङकङलाई सस्तैमा समेट्न ओमानका बिलाल खानले ४ विकेट लिए । फ्याज बुट र खवर अलीले २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ७० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
खराब सुरुवात गरेको ओमानका लागि जितेन्दर सिंहले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निशम खुशीले अविजित २६ तथा अमीर खलिमले १७ रन बनाए ।
हङकङका नस्रुल रानाले २ विकेट लिए ।
ओमान ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने छैटौं तथा अन्तिम टिम बनेको छ । ओमान दोस्रो पटक विश्वकपमा छनोट भएको हो ।
यसअघि स्कटल्याण्ड, नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाएका थिए ।
युएईमा सम्पन्न छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाएसँगै अर्को वर्ष हुने विश्वकपमा सहभागी १६ टिमको टुंगो लागेको छ ।