एजेन्सी । स्कटल्याण्ड अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
युएईमा जारी ग्लोबल छनोटको प्ले अफमा घरेलु टिम युएईलाई ९० रनले पराजित गर्दै स्कटल्याण्डले विश्वकपमा स्थान पक्का गरेको हो ।
दुबईमा स्कटल्याण्डले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको युएई १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय ८ रनमा समेटियो ।
युएईका लागि रामेज शाहजादले ३४ तथा मुहमद उस्मानले २० रन बनाए । युएईलाई सस्तैमा समेट्न सफ्यान शर्रिफ र मार्क वाटले ३/३ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रीचि ब्रिङ्टोनले ४८ तथा कप्तान केली कोज्टरले ३४ रन बनाए । युएईका रोहन मुस्तफाले २ विकेट लिए ।
योसँगै स्कटल्याण्ड ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने पाँचौ टिम बनेको छ ।
यसअघि नामिबिया, नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेका छन् । अब एक टिमले विश्वकपमा स्थान बनाउने छन् ।