काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका निर्वतमान कप्तान पारस खड्काले टिमको कप्तानीमा ज्ञानेन्द्र मल्ल सबैभन्दा योग्य खेलाडी भएको बताएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमको कप्तानीको जिम्मेवारी ज्ञानेन्द्रलाई दिएपछि सामजिक संजालबाट पारसले योग्य व्यक्ति कप्तानमा चयन भएको बताएका हुन् ।
पारसले सामाजिक संजालमा लेखेका छन्, 'सबैभन्दा योग्य व्यक्ति ज्ञानेन्द्र नेपाल क्रिकेट टिमको कप्तान नियुक्त भएकोमा बधाई छ । जसले धैर्यता, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेको छ ।'
नियमित कप्तान रहदै आएका पारसले कप्तानबाट राजीनामा दिएपछि क्यानले बिहिबार ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको थियो ।
यस्तै पारसले ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई छुने समेत बताएका छन् ।
'म विश्वस्त छु कि उहाँको नेतृत्वमा हामी नयाँ उचाइमा पुग्नेछौं,' पारसले लेखेका छन्, 'यो समय एक अर्कालाई समर्थन गर्ने र नेपाल क्रिकेटलाई उज्यालोतर्फ लैजाने हो।'
पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा ईमेलबाट राजीनामा पत्र बुझाएका थिए ।