एजेन्सी । नामिबिया अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
युएईमा जारी ग्लोबल छनोटको प्ले अफमा ओमानलाई ५४ रनले पराजित गर्दै नामिबियाले विश्वकपमा स्थान पक्का गरेको हो ।
दुबईमा नामिबियाले दिएको १६२ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर १ बलमा अलआउट हुँदै १०७ रनमा समेटियो ।
ओमानका लागि खवर अलीले सर्वाधिक ४१ रन बनाए । यस्तै अकिब इल्यासले १८ र अमिर कलिमले ११ रन बनाए ।
ओमानलाई सस्तैमा समेट्न नामिबियाका बेर्नार्ड स्कोल्ट्स र गेर्हार्ड एरास्मुसले ३/३ विकेट लिए । जेजे स्मितले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । नामिबियाका लागि जेजे स्मितले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्यारिग विलियम्सले ४५ तथा निकोलस डाभीनले २१ रन बनाए । ओमानका बिलाल खानले ४ विकेट लिए ।
नामिबिया पहिलोपटक विश्वकपमा छनोट भएको हो । नामिबिया विश्वकपको ग्लोबल छनोटबाट विश्वकपमा छनोट हुने चौंथो टिम हो ।
यसअघि नेदरल्याण्ड, आयरल्याण्ड र पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेका छन् । अब दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।
ओमानको भने विश्वकपमा छनोट हुने सम्भावना कायम रहेको छ । ओमानले अब हङकङसँग खेल्नेछ ।