एजेन्सी । बंगलादेश टेष्ट क्रिकेट टिमको कप्तान शकिब अल हसनलाई २ वर्षको प्रतिबन्ध लागेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भ्रष्ट्राचार सम्बन्धि नियम उलंघन गरेको भन्दै शकिबलाई सबै खाले क्रिकेटमा एक वर्ष निलम्बनसहित २ वर्षको प्रतिबन्ध गरेको हो ।
आईसीसीको एन्टी करप्सन युनिटको अनुसन्धानमा शकिब दोषी प्रमाणित देखिएका थिए । शकिबले एन्टी करप्सन कोडको तीन मुख्य नियम उलंघन गरेको आईसीसीले जनाएको छ ।
शकिबले विभिन्न खेलमा खेल सट्टेबाजी (बेटिङ) का लागि आएको प्रस्तावको रिपोर्ट आईसीसीलाई नदिएको आरोप लागेको छ । सन् २०१८ मा बंगलादेश, श्रीलंका र जिम्बावेबीचको त्रिकोणात्मक सिरिज र इण्डियन प्रिमियर लिगको विभिन्न खेलमा बेटिङको सूचना पाएपनि हसनले रिपोर्ट नगरेको बताईएको छ ।
३२ वर्षीय शकिब एकदिवसीय क्रिकेटको अलराउण्डर वरियताको शीर्ष स्थानमा रहेका छन् । उनले बंगलादेशका लागि ३३८ खेल खेलेका छन् ।
शकिबले आफुलाई लागेको आरोप स्वीकार गर्दै आईसीसीको प्रतिबन्धलाई पूर्ण रुपमा पालना गर्ने बताए ।
शकिबको प्रतिबन्ध सन् २०२० को अक्टोबर २९ मा फुकुवा हुनेछ ।