काठमाडौं । नेपाल भ्रमणका लागि इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टिमको घोषणा गरेको छ ।
एमसीसीले नेपाल भ्रमणका लागि जिम्मी एडम्सको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको छ ।
कप्तान एडम्ससँगै टिममा यासिर अराफात, बिली गोड्लीमन, मिल्स हम्मोड, ओलिभर हानोन डाल्बे, कलम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सेर, एलेक्स थोमसन, विल भेन्देरस्पेर, एड योङ, टम वेस्ट्ले र क्रिस राइट् रहेका छन् ।
टिममा रहेका मध्ये अराफातले पाकिस्तानबाट टेष्ट खेलिसकेका छन् । यस्तै विल रोड्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलिसकेका छन् ।
यस्तै टिमको ब्यबस्थापकमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स रहेका छन् ।
नेपाल संगको सिरिजका लागि एमसीसीको टिम बुधबार नेपाल आईपुग्ने छन् ।
एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू-१९ टिम र पोखरामा स्थानीय टिमसँग सिरिज खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुर अन्तर्गत एमसीसी नेपाल आउन लागेको हो । नेपाली क्रिकेट विकासको लागि एमसीसीले गत वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो ।
यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो । यस्तै नेपालले एमसीसीको भ्रमण गरिसकेको छ ।