एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब टोटेनहमलाई पेनाल्टी सुटआउटमा ५ – ३ ले हराएको हो ।
अमेरिकामा भएको खेलको निर्धारित ९० मिनेट २ – २ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बार्सिलोनाका पाँच खेलाडीले पेनाल्टी गोल गरेका थिए । तर, टोटेनहमका तीन खेलाडीले गोल गर्दा एन्थोनी जर्जियोले गोल गर्न सकेनन् ।
क्यालीफोर्नियामा दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोनालाई खेल जित्न पेनाल्टीसम्म कुर्नु परेको थियो । खेलको १५ औं मिनेटमा म्युनिर इल हडादीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा अर्थरले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
तर, बार्सिलोनाले दोस्रो हाफमा अग्रता जोगाउन सकेन । खेलको ७३ औं मिनेटमा ह्युन मिन सनले गोल गर्दै टोटेनहमलाई खेलमा फर्काए । त्यसपछि खेलको ७५ औं मिनेटमा टोटेनहमका जर्जेस एनकोउडुले गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याएका थिए ।
यो जितसंगै बार्सिलोनाले प्रि सिजनको तयारी जितबाट सुरुवात गरेको छ । यस्तै यसै सिजन क्लब आएका अर्थर मेलो र माल्कोमले बार्सिलोनाबाट डेब्यु गरेका छन् । युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न बार्सिलोना र टोटेनहम अमेरिकामा रहेका छन् ।