एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा इटालियन च्याम्पियन युभेन्ट्सले पोर्चुगलको बेन्फिकालाई पेनाल्टी सुटआउट ४ – २ ले हराएको हो ।
अमेरिकामा भएको खेलको निर्धारित ९० मिनेट १ – १ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा युभेन्ट्सका चार खेलाडीले गोल गरेका थिए । बेन्फिकाका दुई खेलाडीले मात्र गोल गर्न सक्यो ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बेन्फिकाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६५ औं मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै बेन्फिकालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा युभेन्ट्सका लुका क्लेमेन्जाले गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याएका थिए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न युभेन्ट्स र बेन्फिका अमेरिकामा रहेका छन् ।