एजेन्सी । पपुवा न्यु गिनी (पीएनजी) अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।
युएईमा जारी ग्लोबल छनोट अन्तर्गत आइतबार केन्यालाई ४५ रनले पराजित गर्दै पीएनजी विश्वकपमा छनोट भएको हो । योसँगै पीएनजीले पहिलोपटक विश्वकपमा छनोट हुँदै इतिहास रचेको छ ।
दुबईमा पीएनजीले दिएको ११९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्या १८ ओभर ४ बलमा अलआउट हुँदै ७३ रनमा समेटियो ।
केन्याका लागि इरफान करिमले सर्वाधिक २९ रन जोडे । यस्तै अमान गान्धीले अविजित १४ रन बनाए । पीएनजीका असाद भाला र नोसैना पोकेनाले ३/३ विकेट लिए । नोर्मान भानुवा र डामिन राभुनले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले १९ ओभर ३ बलमा अलआउट हुँदै ११८ रन बनाएको थियो ।
पीएनजीका लागि नोर्मान भानुवाले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सेसे बाउले १७ तथा जासन किलाले १२ रन बनाए । केन्याका इमान्युएल बुन्दीले ४ विकेट लिए ।
जितसँगै समूह 'ए' को पीएनजीले ६ खेलमा ५ जितसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा स्थान पक्का गरेको हो । ४ अंक जोडेर केन्या छैटौं स्थानमा रहेको छ ।
यस समूहबाट नेदरल्याण्ड, नामिबिया र स्कटल्याण्डले प्ले अफमा स्थान बनाएका छन् ।
सन् २०२० मा आयोजना हुने टी-ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।