ललितपुर । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलमा आज दुई खेल हुदैछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र रौतहट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा हुने पहिलो खेलमा दिउँसो १ बजे सुरु हुनेछ ।
विभागीय टिम आर्मी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने तयारी गरेको छ । पहिलो खेलमा पुलिस र दोस्रो खेलमा काठमाडौंलाई फराकिलो गोल अन्तरले हराएको आर्मी आत्मविश्वासी समेत देखिएको छ ।
यता, रौतहट प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै लिग जित्ने गणितीय सम्भावना बाँकी राख्न चाहन्छ । आर्मीले २ खेलबाट ६ अंक जोडेको छ । एक खेल बढी खेलेको रौतहटको समेत ६ अंक छ ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा दुई विभागीय टिम एपीएफ र पुलिस भिड्नेछन् । खेल दिउँसो साढे ३ सुरु हुनेछ । एपीएफले काठमाडौं र रौतहटलाई फराकिलो अन्तरले हराउदै आफुलाई उपाधि दाबेदार टोलीको रुपमा प्रस्तुत गरिसकेको छ ।
पुलिस अघिल्ला दुवै खेलमा पराजित छ । विभागीय डर्बीमा हात पार्दै एपीएफ सतप्रतिशत जित हासिल गर्न चाहन्छ । एपीएफले २ खेलबाट ६ अंक जोडेको छ । पुलिस तालिकामा अंक बिहिन छ ।