एजेन्सी । श्रीलंकाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियाले फराकिलो जित निकालेको छ ।
एडिलेटमा आइतबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय ३४ रनले पराजित गरेको हो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अष्ट्रेलियाको यो हालसम्मकै फराकिलो रनको कीर्तिमानी जित हो ।
अष्ट्रेलियाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।
श्रीलंकाका लागि डासुन शनकाले १७, कुशल परेराले १६, ओशाडा फर्नान्डोले १३ तथा दनुस्का गुनाथिलकाले ११ रन जोडे ।
श्रीलंकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए । यस्तै मिचेल स्टार्क र पाट कुमिन्सले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । अष्ट्रेलियाको लागि डेभिड वार्नरले १०० रनको शतकीय इनिङ्स खेले ।
वार्नरले ५६ बलमा १०० रन पुरा गरे । उनले १० चौका र ४ छक्का प्रहार गरे । उनको यो टी-ट्वान्टी अन्तर्राष्ट्रिय पहिलो शतक हो ।
यस्तै कप्तान आरोन फिन्चले ६४ तथा ग्लेन म्याक्सवेलले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । श्रीलंकाका लक्षण शान्दकान र डासुन शनकाले एक एक विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले तीन खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । दुईबीचको दोस्रो खेल बुधबार हुनेछ ।