एजेन्सी । बंगलादेशले घरेलु टोली वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा १८ रनको जित निकाल्दै बंगलादेशले सिरिज २ – १ ले आफ्नो बनाएको हो ।
बंगलादेशले दिएको ३०२ रनको उच्च लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २८३ रन बनाउन सक्यो । वेष्ट इण्डिजका लागि रोभम्यान पावेलले अविजित ७४ तथा क्रिस गेलले ७३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै वेष्ट इण्डिजका शाइ होपले ६४ रन जोडे । बंगलादेशका माश्रफ मोर्ताजाले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर ३०१ रन जोडेको थियो । बंगलादेशको उच्च स्कोरमा तामिम इकबालले शतकीय पारी खेले । उनले १२४ बलमा ७ चौका र २ छक्कासहित १०३ रन जोडे । यस्तै मोहमद मह्मुदुल्लाहले अविजित ६७, शाकिब अल हसनले ३७ रन जोड्दा कप्तान माश्रफ मोर्ताजाले ३६ रन बनाए । वेष्ट इण्डिजका जासन होल्डर र एस्ले नर्सले समान २/२ विकेट लिए ।
भ्रमणकारी टोली बंगलादेशले यसअघि पहिलो एकदिवसीयमा जित निकालेको थियो । दोस्रो खेलमा भने वेष्ट इण्डिजले जितेको थियो । बंगलादेशले अब वेष्ट इण्डिजसंग तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छ ।