एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इन्ग्लिश प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जर्मन क्लब वायर्न म्युनिखलाई हराएको छ । शनिबार राति भएको खेलमा सिटीले बुन्डेस लिगा च्याम्पियन वायर्नलाई ३ – २ गोल अन्तरले हराएको हो ।
अमेरिकाको मियामीमा दुई गोलको अग्रता उल्टाएर सिटीले वायर्नविरुद्ध जित निकालेको हो । सिटीलाई जित दिलाउन बर्नाडो सिल्भाले दुई गोल गरे । यस्तै लुकासले एक गोल गरे । वायर्नका मेरिटन शबानी र आर्जेन रोबिनले एक एक गोल गरे ।
पहिलो हाफको १५ औं मिनेटमा शबानीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको २४ औं मिनेटमा रोबिनले गोल गर्दा वायर्नले २ – ० को अग्रता बनायो । खेलको ४५ औं मिनेटमा सिल्भाले गोल गर्दै खेल २ – १ मा ल्याए ।
दोस्रो हाफमा सिटी खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा लुकासले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७० औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३ – २ को जित दिलाए ।
वायर्नविरुद्धको जित निकालेको खेलमा सिटीका रियाद महरेज भने घाइते भएका छन् । वायर्नका क्रिस रिचार्डको ट्याकलमा परी महरेज घाइते भएका हुन् । घाइते भएपछि यसै सिजन सिटी आएका महरेज पहिलो हाफको २८ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।