धनगढी । बाल बाटिका क्रिकेट लिगको उपाधि धनगढीको लिटिल फ्लावर स्कुलले जितेको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका मुडा बजारमा शनिबार आयोजक नव बालबाटिका स्कुललाई ४२ रनले हराउँदै लिटिल फ्लावर च्याम्पियन बनेको हो ।
उपाधिसँगै लिटिल फ्लावरले १ लाख १ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको आयोजकले ५१ हजारमा चित्त बुझायो ।
टस जितेर पहिले ब्याटिङ गरेको लिटिल फ्लावरले २० ओभरमा अलआउट हुँदै ११० रन बनाएको थियो । लिटिल फ्लावरका लागि नरेन भट्टले २० रन र अनुराग सिंहले १५ रन बनाए । वालवाटिकाका लागि बसन्त ठाकुरले चार र पारस भुलले तीन विकेट लिए ।
लिटिल फ्लावरले दिएको १११ रनको लक्ष्य पछ्याएको बाल बाटिका १७ ओभर ३ बलमा अलआउट हुँदै ६८ रनमा समेटियो । बाल बाटिकाका लागि नरेन्द्र साउँदले बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । आयोजकलाई सस्तैमा समेट्न लिटिल फ्लावरका दिपक रोकायाले ५ विकेट लिए । यस्तै प्रकाश वडुले तीन विकेट लिए ।
प्रतियोगितामा आरएमई स्कुल टीकापुरका अभिषेक खत्री उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । लिटिल फ्लावरका नरेन भट्ट उत्कृष्ट व्याट्सम्यान र लिटिल फ्लावरकै प्रकाश वुढा उत्कृष्ट बलर चुनिए । उनीहरुले ५/५ हजार प्राप्त गरे ।