काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टिम आबु धाबीमा अनुबन्धित भएपछि टी-१० फ्रेन्चाइज क्रिकेट लिगले नेपालका समर्थकहरु यस क्षणको लागि प्रतिक्षामा रहेको बताएको छ ।
टी-१० ले शनिबार सामाजिक संजाल फेसबुक र ट्वीटरमा पोस्ट गर्दै नेपाली क्रिकेटका नायक पारसको यस क्षणका लागि समर्थकहरु उत्सुकताका साथ प्रतिक्षामा रहेको जनाएको छ ।
'नेपालका समर्थकहरु यस क्षणका लागि प्रतिक्षामा रहेका थिए,' टी-१० ले लेखेको छ, 'बिग हिटर अलराउण्डर र हिमालयन नायक पारस टी-१० को लागि टिम आबु धाबीमा अनुबन्धित भएका छन् । नेपालका पूर्व कप्तान मोइन अली र प्रशिक्षक ट्रेभोर बालिसको टिममा सामेल भएका छन् ।'
युनाइटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने टी-१० लिगमा पारस १० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । टी-१० लिग पारसको पहिलो विदेशी फ्रेन्चाइज लिग हो ।
पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । यसअघि नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले मात्र विदेशी फ्रेन्चाइज लिग खेलेका छन् ।
पारसले पनि टी-१० लिगको एक हिस्स बन्न पाउँदा निकै खुशी भएका बताएका थिए ।
आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१० ओभरको हुने लिग राउण्ड रोबिन र प्ले अफको आधारमा हुनेछ ।